म २५ वर्षीय विवाहित युवक हुँ र म अहिले अमेरिकी क्रिम लङ ह्यान्डसम (लिङ्ग ठूलो बनाउने क्रिम) प्रयोग गर्दैछु । सुनेको छु, यसको प्रयोगले भविष्यमा यौन शक्ति कम हुन्छ । के यसले मलाई तथा मेरी श्रीमतीलाई खुसी दिन सक्छ ?
२१२३

आफू र श्रीमती खुसी हुन के गर्ने ?
दुवै जना खुसी हुन अर्थात् सुखद दाम्पत्य जीवन विविध पक्ष अर्थात् सामाजिक, आर्थिक अनि आफ्ना तथा परिवारका सदस्यको आकांक्षाका साथै आपसी आत्मीयताजस्ता धेरै कुरामा भर पर्छ । यहाँ तपार्इंले खुसी भन्नाले पक्कै पनि यौनसुखलाई भन्न खोज्नुभएको होला भनेर त्यसैको सेरोफेरोमा रहेर जवाफ दिने प्रयास गरेको छु । सुखद दाम्पत्य जीवनका लागि यौन सुख प्राप्ति एउटा महत्वपूर्ण आधार हो । यौन सुख प्राप्त गर्न अन्य व्यक्तिले सहयोग गर्न सक्छन् तर यौन सुख प्राप्त भने आफैंले गर्ने हो । हाम्रा इन्द्रियले यसलाई सहयोग गर्छन् । यौन सुख प्राप्त गर्न स्पर्श, दृश्य, गन्ध अनि ध्वनिजस्ता अनेक रूपमा हामीले यौनको सुखानुभूति प्राप्त गर्न सक्छौं । हाम्रा यौनाङ्गसहितका इन्द्रियबाट प्राप्त हुने सन्देशहरूलाई अर्थ लगाउने कार्य भने हाम्रो मस्तिष्कमा हुन्छ । यस अर्थमा यौन सुखको प्राप्ति मस्तिष्कमा हुन्छ । तपाईं र तपाईंकी श्रीमतीले यौन सुख प्राप्त गर्न शारीरिक मात्र होइन, मानसिक रूपमा पनि अनुकूल अवस्थामा हुनुपर्छ ।

हामीले यौन आनन्द वा चरमसुख कसरी पाउँछौं ?
उत्तेजनाको चरणलाई निरन्तरता दिए पछि प्लाटो फेजमा पुगिन्छ र त्यसबाट पछि यौन चरमसुख मा पुगिन्छ । यसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई यौन चरमसुख भनिन्छ ।

यौन उत्तेजनालाई निरन्तरता दिन यौनाङ्ग अनि यौन संवेदनशील अङ्गको स्पर्श वा घर्षण वा मर्दन एउटा महत्त्वपूर्ण पाटो हो । पुरुषको हकमा सबैभन्दा यौन संवेदनील अङ्ग लिङ्ग हो भने महिलाको हकमा ‘भगांकुर’ । यो बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको एकतिहाइ भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । त्यसैगरी स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोग गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् सम+भोग, जसको अर्थ दुवै जना यौनसाथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यो सुख भोग गर्न पाउने कुरा हो ।

के यस्ता लिंग लम्ब्याउने वा मोटो बनाउने क्रिम वा प्रसाधनले साँच्चिकै सहयोग गर्छ ?
यो पक्कै हो कि लिङ्गले प्रजनन कार्यमा वीर्यलाई योनिमा राख्ने अनि यौन सुख प्रदान गर्ने जस्ता महत्वपूर्ण कार्य गर्ने भएकाले यसको आफ्नै महत्त्व छ । सम्भवत: त्यसैले पनि होला, लिङ्गको नापलाई पौरुषत्वसँग जोडिन्छ र पुरुषको आत्मसम्मानसँग यसको गहिरो सम्बन्ध हुन्छ । त्यसैले पनि कुनै पनि पुरुषलाई लिङ्गको नापका सम्बन्धमा निकै चासो र चिन्ता हुन्छ । यही चासो र चिन्तालाई आफ्नो व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको पनि पाइन्छ र कतिपय स्थितिमा त्यस्तो चासो र चिन्तामा परेका व्यक्तिलाई भन्दा कुनै यौन प्रसाधनको व्यापार गर्ने व्यक्ति वा संस्थालाई मात्र फाइदा हुन्छ ।

माथि भनिएजस्तै यौनाङ्गको महत्त्वपूर्ण भूमिका भए पनि यसैमा सबै कुरा भर पर्छ भन्ने छैन । लिङ्गको लम्बाइ तथा मोटाइ बढी भए यौन सुख बढी प्राप्त गरिने वा श्रीमतीलाई बढी दिन सकिने होइन । महिलाको भगांकुर बाहिरतिरै हुने भएकाले पुरुष माथितिर रहेर गरिने लिङ्ग–योनि मैथुनमा श्रीमतीले यौन सुख प्राप्त गर्ने कार्यमा खासै भूमिका खेल्दैन । योनिको पनि बाहिरतिरको भाग नै यौन संवेदनशील हुने स्थितिमा तुलनात्मक रूपमा छोटो लिङ्ग नै पर्याप्त हुन्छ । तपाईंले किन लिङ्गको लम्बाइ वा मोटाइ बढाउने कार्य गर्न खोज्नुभयो, स्पष्ट छैन तर पनि लिङ्ग बढाउने केही चर्चामा रहेका उपायहरूका बारेमा चर्चा गरौं ।

१. कसरत तथा हातैले तन्काउने विधि : दैनिक रूपमा पर्याप्त समय लिङ्ग–दोहन (दुहुने) गरी तन्काउने । यसबाट लिङ्गको नाप बढ्ने दाबी गरिएको छ ।

२. तौल वा यन्त्रको सहायताले तन्काउने विधि : कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा Screw-Extender भएका यन्त्रले लिङ्गको नाप बढाउने विधि हो । कतिपयले यस्ता विधीले अनावश्यक रुपमा लिङ्गमा चोट पुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन् ।

३. पम्प प्रयोग गर्ने विधि : दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ । यसको दीर्घकालीन प्रभावका बारेमा प्रश्न त छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ ।

४. शल्यक्रिया : यो विधिमा लिङ्गलाई अड्याउने तन्तु काट्ने, बोसो तन्तु भर्ने वा नचबात गर्ने वा अन्य वस्तु राख्ने जस्ता अनेक उपाय गरिन्छ । यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट मात्र गराउनुपर्छ । यसका बाबजुद कतिपय स्थितीमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नआएको कुरा पनि छ जसले असन्तोषलाई थप्छ नै ।

इन्टरनेटलगायतका माध्यम अपनाएर प्रचार गरिने कतिपय सामग्रीको अनुसन्धान वैज्ञानिक तरिकाले गरिएको हुँदैन र तिनले आधिकारिक संस्थाबाट अनुमति पनि पाएका हुँदैनन् । यस्ता सामग्रीले फाइदा नगर्ने मात्र होइन, हानि पुर्‍याउन सक्छन् । तपाईंले लिङ्गमा लगाउनुभएको क्रिमको रसायनिक नाम लेख्नुभएको भए स्पष्ट जवाफ दिन सजिलो हुने थियो । कतिपय क्रिममा पुरुष हार्मोन प्रयोग गरिएको हुन सक्छ जसको तपाईंकी श्रीमतीको प्रत्यक्ष सम्पर्क पनि जोखिमपूर्ण हुन्छ ।